
काठमाडौं। पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको भनेर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले स्पष्टीकरण दिएका छन् । शाहले सोमबार राति फेसबुकमा स्टाटस लेखेर प्रहरीले आफ्नो छोरा हृदयन्द्रलाई दुर्व्यवहार गर्दै लठ्ठीले हान्न खोजेपछि बुबाको नाताले गर्नुपर्ने कर्तव्य पुरा गरेको बताएका छन ।
एउटा बुबाले आफ्नो छोरालाई बचाउन गरेको सो कार्यलाई फैसला गर्ने जिम्मा पूर्वयुवराज शाहले नेपाली जनतालाई छाडिदिएका छन् । ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए एउटा बाबुको नाताले मैले सहन सकिन’, पूर्वयुवराज शाहले भनेका छन्, ‘र उनीमाथि जाइलागे त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिए ।’
‘मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे’, उनले भनेका छन्, ‘यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु ।’ पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा कारबाहीको माग गरिएको छ । तर, ती प्रहरीले पूर्वयुवराज शाहलाई र उनको परिवारलाई गरेको व्यवहारका बारेमा केही भनिएको छैन ।
पूर्वयुवराज शाहले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक ईश्वर खत्रीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उता, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ । आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा पूर्वयुवराज पारसले सई खत्रीमाथि झम्टिएको देखिएको छ । आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै छिन् ।
यसैबीच शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानविन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो ।