आफ्नै हकहितका लागि समर्पित हुने उद्देश्यसहित स्थापना भएको छाता संगठनका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका बारेमा स्वयं पत्रकारहरु नै आलोचनामा उत्रिएका छन् । संगठनका बारेमा आलोचनात्मक रुपमा प्रस्तुत हुनुपर्दा आफैंलाई असजिलो महसुस भएको स्वयं चर्चामा सरिक पत्रकारहरुको तर्क छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखा निरंकुश ढंगले आफ्नै सदस्यमाथि खनिनु दुःखद पक्ष रहेको अधिकांश सदस्यहरुको गुनासो छ । राजनीतिक दलमा गुट उपगुट भएको समाचारहरु कोर्दै आएको नजिर अहिले आएर नेपाल पत्रकार महासंघमा पनि मौलाएको अभिव्यक्ति दिन पछि पर्दैनन् पत्रकारहरु । कुनै पनि कानूनमा कसैलाई पनि सजायँ दिनु अगाडि उमाथि लागेको आरोपको बारेमा प्रष्ट्याउने मौका दिइन्छ । उसले आफ्नो गल्ती औंल्याउन पाउँछ तर नेपाल पत्रकार महासंघ काभ्रे शाखामा त्यो अभिव्यक्ति स्वतन्त्रता अधिनायकवादमा गएर जोडिएको पिडित पत्रकारहरुको गुनासो छ । उहाँहरुको सबैको आशय हामीले हाम्रो सफाई पेश गर्न नपाउनु कहाँसम्मको अधिनायकवाद लादिएको हो ? भन्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
झण्डै ३ दर्जनभन्दा बढी सञ्चारकर्मीहरुलाई बिना कसुर छलछाम गरेर पत्रकारिता जीवनबाट सफाय गर्ने जमर्काे गरेको गुनासो सार्वजनिक भएको छ । उहाँहरुका अनुसार आस्था, निष्ठालाई आँच पुग्ने गरी जुन गतिविधि गरेर सदस्यता नविकरण गर्न पाउने अधिकारबाट बञ्चित गरियो, यसप्रति हाम्रो गम्भीर आपत्ति भएको उहाँहरुको मत छ । विगतदेखिका क्रियाकलापलाई हेर्दा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको हालको नेतृत्वले पूर्वाग्रही ढंगबाट हाम्रो सदस्यता नविकरण गर्नबाट बञ्चित गरेको हामीले महसुस गरेका छौं भन्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३६औं र ३७औं बैठकका बारेमा अहिले सडक तातेको छ । पछिल्लो महासंघको नेतृत्वले आफू निर्वाचित भएलगत्तै निर्वाचनमा देखिएको असन्तुष्टिलाई सदस्यता नविकरणमा ल्याएर प्रतिशोध साँध्ने काम गरेको पिडितहरुको तर्क छ । अन्यायमा परेकाहरुले हाम्रो सदस्यता किन नविकरण नगरेको भनी प्रश्न गर्दा तपाईंहरुको सदस्यता अर्काेपटक नविकरण हुन्छ भनेर नगद समेत बुझेको स्वयं कार्यसमिति सदस्य समेत स्वीकार्छन् । दोस्रो वर्ष पनि त्यस्तै बहाना पारेर अलमल्याउँदै कोषाध्यक्षले अध्यक्ष देखाउने, अध्यक्षले सचिव देखाउने गर्दै दोस्रो वर्ष पनि नविकरण गरिदिएनन् ।
अब तेस्रो वर्ष आएर नविकरण खुलेको सूचना लगतै नविकरण गर्न जाँदा तपाईंहरुको लगातार २ वर्ष नविकरण नभएको कारण विधान सम्वत् अब नविकरण गर्न मिल्दैन भन्दै सिंगो महासंघ गैर जिम्मेवारी ढंगबाट प्रस्तुत हुन पुग्यो । त्यति मात्र होइन, पिडितहरुलाई गैर जिम्मेवारी बनाउँदै आफू पानीमाथिको ओभानो बन्ने कुचेष्टा समेत नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गरेर बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक सफलता हासिल गरेको भन्दै आफूलाई नंग्याउन पुग्यो । यो जति दुःखद पक्ष पिडितका लागि अरु के हुन सक्छ ?