आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति रमाइरहेको छ तर विश्वका मानव जाती भने त्रसित छन् । यहाँ द्वन्द्व छ । एकले अर्काे देशलाई आरोप पत्यारोप लगाइरहेका छन् । एक आपसमा करुणाको भावना हराएको छ । कोभिड १९ लाई हामीले भयंकर विपद्का रुपमा लिइरहेका छौं । यो भन्दा ठूला आपत् विपत् आउन सक्छन् किनकि मानिसमा आत्मज्ञान भन्दा पनि अहंकार, रिस, क्रोध, जलन, स्वार्थ बढेको छ ।
बुद्धको चार आर्यसत्य, अष्टांगिक मार्ग, उनले सिकाएको ज्ञान र ध्यानका विषयमा मानिसको मोह हराएर विश्व अशान्त बन्दै गएको छ । जब पोखरी हिलो हुदै जान्छ तब सुन्दर कमलको फुल फुल्छ । कमलको फुल र बुद्धको सांकेतिक अर्थ छ । जतिबेला सिद्धार्थ गौतम कपिलबस्तुमा जन्मेका थिए । त्यतिबेला पनि महल बाहिर भोकमरी चलिरहेको थियो । राजाहरुमा चक्रवती बन्ने अहंकारमा युद्ध भइरहेको थियो । मानवता भन्दा सत्ताको मोह बढेको थियो । शासकहरुलाई शक्तिशाली बन्ने भोक जागेको थियो । जसरी यतिबेला विश्वलाई हेर्नुस् त मानिसमा पिडा छ, दुःख छ तर शासकहरु शक्तिशाली बन्नका लागि साम, दाम, दण्ड, भेद सबै अपनाउन उद्धत छन् । मानिसलाई जीवन चलाउन धौ धौ हुने अवस्था सिर्जना हुदै जाँदा शासकहरु कर माथि कर थोपरेर जनतामा अझ बोझ सिर्जना गरिरहेका छन् । जसरी सिद्धार्थ गौतमको समयमा भएको थियो ।
कोरोना भाइरस (कोभिड १९)को महामारीले सत्ताधारीलाई पैसाको समस्या पर्छ । उनीहरु त्यसको बोझ जनतामा नै थप्न थाल्नेछन् । मानिसले जिउन गाह्रो हुने छ । पोखरीमा हिलो जमे जस्तै । विश्व अन्धकारमय झै हुने छ । मानव जीवन असुरक्षित हुने अवस्थामा पुगेको छ । जीवन संघर्षमय बन्दै गएको छ । यस्तो आपतकालमा प्राणीको सुरक्षाका लागि बुद्ध जन्मन आवश्यक भएको छ । अब हिलो पोखरीमा कमलको फुल फुल्ने छ । फेरी बुद्धको जन्म हुँदैछ । किनकि यो दुख, पिडाबाट रुपान्तरण हुने समय हो । रुपान्तरण हुने संक्रमित समयमा यस्ता संकटहरु देखा पर्दछन् ।
हामीले बुद्ध भन्ने वित्तिकै सिद्धार्थ गौतमलाई सम्झन पुग्छौं । तर, सिद्धार्थ गौतमभन्दा अघि पनि धेरै बुद्ध जन्मेका थिए । पछि पनि जन्मने छन् । अझ स्पष्ट भन्ने हो भने बुद्ध बन्ने विउ तपाई हामी सबैमा छ । हामीले त्यो विउलाई मलजल गरेर उब्जाउन सक्यौ भने तपाई पनि बुद्ध बन्न सक्नु हुन्छ । जसरी एक पलले दिनलाई बदल्ने क्षमता राख्छ, एक दिनले एक जीवन र एक जीवनले विश्वलाई बदल्न सक्छ । एक दियोले अन्धकारलाई हटाउन सक्छ । त्यसैले कोध्रलाई प्रेम, स्वार्थलाई उदारता, झुटोलाई सच्चाईले जित्न सकिन्छ । बुद्ध बन्ने मार्गमा जो चल्छ ऊ बुद्ध बन्न सक्छ । बुद्धलाई भगवान होइन बुद्धिका रुपमा स्वीकार गर्नुभयो भने तपाईले बुद्ध बन्ने सम्भावना भएका मानिसहरु आफ्नै वरिपरि पाउनु हुने छ । तपाई आफै पनि बुद्ध बन्न सक्नुहुन्छ । बुद्ध एक होइन अनेक थिए ।
हामीले बुद्ध भन्ने वित्तिकै सिद्धार्थ गौतमलाई सम्झन पुग्छौं । तर, सिद्धार्थ गौतमभन्दा अघि पनि धेरै बुद्ध जन्मेका थिए । पछि पनि जन्मने छन् । अझ स्पष्ट भन्ने हो भने बुद्ध बन्ने विउ तपाई हामी सबैमा छ । हामीले त्यो विउलाई मलजल गरेर उब्जाउन सक्यौ भने तपाई पनि बुद्ध बन्न सक्नु हुन्छ ।
कपिलबस्तुका गौतम बुद्धले वैशालीको नगरबधु आम्रपालिलाई दीक्षा दिएर वेलवा गाउँ फर्केर शरिर त्याग्ने बेला शिष्य आनन्दलाई भनेका थिए । म पृथ्वीमा आएको पहिलो र अन्तिम पटक होइन । उनले फेरी पनि जब पृथ्वीमा करुणा, प्रेम र शान्तिको आवश्यकता पर्दछ तब बुद्ध जन्मने कुरा बताएका थिए । केहि ग्रन्थले सिद्धार्थ गौतम अघि २४ बुद्धको जन्म भएको थियो भनेका छन् । महायान बौद्ध साहित्यका अनुसार ५४ बुद्धले पृथ्वीमा जन्म लिएका थिए । ती साहित्यले अब जन्मने बुद्धको समेत भविश्यवाणी गरेका छन् । के अब फेरी बुद्ध नेपालमा नै जन्मने छन् त ?
सिद्धार्थ गौतम जन्मनु अघि पनि पालि साहित्यका अनुसार चार बुद्धको जन्म भएको थियो । ती मध्ये तीन बुद्धको जन्म नेपालमा नै भएको थियो । अब मैत्रेय बुद्ध पनि नेपालमा नै जन्मन सक्छन् । यहाँको भूमि बुद्धका लागि तयार छ । यो समय यहाँ थुप्रै ज्ञानी व्यक्तिहरुको जन्म भएको छ । तपाई हामीले पहिचान गर्न नसकेका हौं ।
लुम्बिनीमा मायादेवीले सिद्धार्थ गौतम गर्वमा आउनु अघि आकाश मार्गबाट ६ सुड भएको सेतो हात्तीले कमलको फुल लिएर आएको सपना देखेकी थिइन् । कमलको फुल हिलोमा फुल्छ । अर्थात जब मानिसमा संकट हुन्छ, अहंकार बढ्छ, हिंसा बढ्छ तब त्यो फोहरबाट त्यसको नास गर्न जसरी हिलोबाट कमलको फुल निस्कन्छ त्यसैगरी बुद्धको जन्म हुन्छ ।
बुद्धिको स्रोत पुर्व हो । त्यसैले बुद्ध फेरी पनि यहाँ, यो प्राकृतिक भुमिमा विश्व शान्तिको सन्देश दिन जन्मने छन् । दया र करुणाको रक्षाकवजका रुपमा बुद्धको जन्म हुन्छ । युद्धको प्यासका लागि तड्पिएको मानिसलाई फेरी जगाउनका लागि बुद्ध जन्मनुपर्ने छ । जसरी भयंकर हत्यारा अंगुलीमाल दया, करुणा र क्षमाको आगोमा जलेर भिक्षु भए । त्यस्तै अहिले युद्धको प्यासका लागि तड्पिएका मानिसलाई जगाउन, अहिंशाको मार्ग देखाउन बुद्धको जन्म हुदैछ । संसारको दुःख र पिडामा मानिसलाई मार्ग खोजी गर्न सिकाउनका लागि महासत्व मैत्रेय बुद्धको जन्मने भविश्ववाणी भएको थियो । त्यसका लागि पृथ्वी तयार भइरहेको छ ।
ज्ञानी, योगी, तपी, लेखक, विचारक, मानवताको भावना भएको महामानव एक ठाउँमा हुन नसक्दा, उनीहरुको विचार र ज्ञानलाई अपनाउन नसक्दा विश्वमा फैलिएको अशान्ति, रोग र शोकबाट मुक्त गर्न विश्व मैत्री भाव सिर्जना गर्न मैत्रेय बुद्धको जन्म हुने छ । मानव र प्राणिको हितका लागि प्रकृतिले बुद्धको जन्म दिने छ । पैसा, हिरा मोती, वैभवलाई धनसम्पत्ती मान्ने हो भने नेपाल गरिव छ । तर,अझै पनि नेपाली माटोमा स्वच्छन्दता छ । यहाँ बुद्ध जन्मने वातावरण छ । वेदवास, सीता, लवकुश, गौतम बुद्ध यहि जन्मिए । हनुमानले संजिवनी बुटि पनि यहिबाट लिएर गएका थिए । त्यसैले यहाँको शक्ति अपरमपार छ । अब फेरी नेपालमा बुद्ध जन्मन सक्छन् । फेरी नेपालको गौरव फर्कने छ । नेपालीमा दयाको सागर छ । मित्रताको भावना छ । मैत्रेय अर्थ मित्रता हो । विश्व गुरुका रुपमा मैत्रेय बुद्धको आगमन हुने छ र विश्वको मानचित्रमा सानो देश नेपालबाट नै विश्व शान्तिको र मित्रताको सन्देश प्रवाह हुन सक्छ ।
साभार राजधानी दैनिक डटकम